सामान्य वर्षा पनि किन थेग्न सक्दैन काठमाडौँ ?
काठमाडौं : २०८१ साल असोजको दोस्रो हप्ता। अनामनगरमा रहेको त्रिहंश किनारा पसलमा काम गर्ने डम्बर बहादुर साउदले पसल खोल्नै सकेनन्। बाहिर पानी उनको सटर भन्दामाथि आइसकेको थियो।
असोज ११ देखि १३ गतेसम्म निरन्तर पानी परिरहेको थियो। तीन दिनसम्म परेको पानीले धोबीखोला नहर जसरी भरिएर पानी बस्तीतिर पसेको थियो। यसको मारमा साउद जस्तै काठमाडौं अनामनगरवासी नै चपेटामा परे।
“हामीले भर्खरै पसल सुरु गरेका थियौँ। यति पानी पर्यो की भित्र गल्लीगल्ली छिर्न थाल्यो,” उनले भने, “दुई तीन दिन पसल खोल्न सकिएन। अलि अग्लो भएकाले भित्र असर त गरेन तर बाटो भन्दा तल भएका भुईँ तला भिजेका थिए।”
यो बाढीले स्थानीयको धनको मात्रै हैन, जनको पनि क्षति गरायो। २०८१ को बाढीले काठमाडौँ उपत्यकामा १६ जनाको ज्यान गयो, ४ जना बेपत्ता भएका थिए। राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार बाढीले ६१ परिवार प्रत्यक्ष प्रभावित भएका थिए। २२ लाख ७७ हजार बराबरको धनमाल क्षति भयो।
यसको कारण थियो बदलिँदै गएको मौसम अनि बदलिँदै गएको नदीको बहाव क्षेत्र। बहाव क्षेत्र खुम्च्याउनै नदीलाई नाला जस्तो बनाउँदा हरेक वर्ष काठमाडौं उपत्यकाका तीन जिल्ला बाढीको चपेटामा पर्ने गरेको छ। सामान्य पानी पर्दा नै जनजीवन प्रभावित हुन थालेको छ।
९ वर्षमा सय पटक भन्दा धेरै बाढी
राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार ९ वर्षमा काठमाडौं उपत्यकामा मात्रै सय भन्दा धेरै बाढी आयो। हरेक वर्ष बाढीको संख्या बढ्दै गयो अनि मानवीय र भौतिक क्षति पनि बढ्दै गयो।
२०७३ मा ३ पटक बाढी जाँदा २ जनाको मृत्यु भयो, ४ परिवार प्रभावित भए। उनीहरूको ९४ लाख ८ हजार बराबर क्षति भयो। २०७५ मा १२ पटक बाढी जाँदा २ सय ६४ परिवार प्रत्यक्ष प्रभावित भए, २ सय २६ वटा घरमा क्षति भयो।
२०७८ मा काठमाडौँका बल्खु, कुलेश्वर र शङ्खमूल क्षेत्रहरूमा बाढी आएको थियो। अचानक परेको आरीघोप्टे पानीले नदी भन्दा धेरै माथि रहेका सयौँ घरहरूमा क्षति पुगेको थियो। २०७७ मा भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले जगती, हनुमानघाट र राधेराधे क्षेत्रका बस्ती डुबेका थिए। २०७५ मा आएको बाढीले पनि यो क्षेत्रका स्थानीय प्रभावित भएका थिए।
२०८१ मा ३६ पटक बाढी आउँदा १६ जनाको मृत्यु भयो। २०८२ मा २१ पटक बाढी जाँदा १ जनाको मृत्यु भयो।
कहिले छिपछिपे, कहिले ह्वारह्वारती
मौसम विभागको १५ वर्षको तथ्याङ्कले उपत्यकामा एकैनासले पानी परेको देखिँदैन। कहिले चाहिने जति पनि परेको देखिँदैन त कहिले चाहिने भन्दा बढी परेर हैरान। सामान्यतया पर्नु पर्ने पानीको ९० देखि ११०प्रतिशतसम्म पानी पर्नुलाई सामान्य मानिन्छ।
विभागका अनुसार १६०४ देखि १६०५ मिलिमिटर पानी पर्नु पर्ने हो तर सन् २०१५ मा उपत्यकामा सबैभन्दा कम १३०९.९ मिलिमिटर पानी परेको थियो। यो वर्ष औसत भन्दा कम पानी पर्यो ।
त्यस्तै सबैभन्दा धेरै पानी परेको वर्ष सन् २०२४ अर्थात् २०८१ मा हो। यो वर्ष उपत्यकामा २०९३.६ मिलिमिटर पानी पर्यो। यो भनेको पर्नु पर्ने पानीको १३०.४ प्रतिशत पानी परेको हो।
मौसम विभागका जलवायु विज्ञ अशोक बख्रेल २०८२ मा काठमाडौँ उपत्यकाको औसत वर्षा २ हजार ९३ मिलिमिटर (मिमि) थियो जब की औसत पर्नु पर्ने पानी १ हजार ६ सय ५ दशमलव २ थियो। औसत पर्नुपर्ने पानीको ९० प्रतिशत भन्दा मुनि पानी पर्नु र ११० प्रतिशत भन्दा बढी पानी पर्नुका कारण जलवायु परिवर्तन हो।
“सन् २०२४ मा विश्वकै तापक्रम अत्याधिक भएको थियो। जसका कारण बाफ धेरै भयो र पानी धेरै पर्यो,”बख्रेलले भने, “जलवायु परिवर्तनका कारण ह्यवार्र पानी पर्ने र ह्ववार्रै रोकिदा मानवीय र भौतिक संरचनामा धेरै खर्च भएको देखिन्छ।”
यसको कारण के ?
उनका अनुसार नेपालमा धेरै पानी पर्नुका चार वटा कारण छन्। पहिलो, प्रशान्त महासागरको तापक्रम बढ्नु हो। दोस्रो,हिन्द महासागरको पूर्व र पश्चिम कतातिरको तापक्रम बढ्यो भन्नेले फरक पार्छ। यदि पश्चिमतिरको पाटोको तापक्रम बढी भयो भने नेपालमा पानी धेरै आउँछ।
तेस्रो जाडोयाममा भूमध्ये सागरबाट पानी पर्छ त्यसमा हावा कता बहन्छ भन्नेले फरक पार्छ। चौथो न्यून चापीय रेखा नेपालको नजिकै आयो भने धेरै पानी पर्छ।
“औसत पानीमा घटबढ हुनु स्वाभाविक हो तर अत्याधिक धेरै र अत्याधिक थोरै पानी पर्नुचाहिँ जलवायु परिवर्तनका कारण हो,” उनले भने, “नेपालमा जलवायु परिवर्तनको धेरै नै असर देखिन थालेको छ।”
उपत्यकामा किन आउँछ बाढी?
शहरी क्षेत्रमा बाढी काठमाडौँ उपत्यकाको मात्र समस्या हैन, देशभरका प्रमुख शहरहरू यसको चपेटामा पर्ने गरेका छन्। त्रिभुवन विश्वविद्यालयका केन्द्रीय जल तथा मौसम विभागका विभागीय प्रमुख टेक बहादुर क्षेत्रीका अनुसार शहरी बाढी आउनुको मुख्य तीन कारण देखिन्छ।
पहिलो अत्याधिक वर्षा हुनु र हावाले अचानक दिशा बदल्नु हो। त्यस्तै दोस्रोमा पानी सोस्ने जमिन नहुनु हो। काठमाडौँ उपत्यकाका प्रमुख शहरहरू कङ्क्रिटले भरिँदै गएकाले खाली जमिन कम हुँदै गएका छन्। कंक्रिटैकंङ्क्रिट भएपछि परेको पानी जमिनले सोस्न सक्दैन। जसले गर्दा परेको अधिकांश पानीको भाग माथिल्लो सतहमै बग्छ र बाढीको रूप लिन्छ। पटक पटक पुतलीसडक क्षेत्र सामान्य पानी पर्दा पनि डुब्ने कारण यही हो।
तेस्रो कारण हो नदीको बहाव क्षेत्र नालाको आकारमा बदलिनु। नदीलाई प्राकृतिक रूपमा बग्न नदिईकन नाला जस्तो रूपमा बदलेर बहाव क्षेत्र खुम्च्याउँदा त्यसले बाढीको आकार लिने गरेको क्षेत्री बताउँछन्।
काठमाडौँका नदीहरूको आकार हेर्ने हो भने यो प्रस्ट देखिन्छ। बागमती नदीका किनारा र १० सहायक नदी तथा खोलाहरू विष्णुमती, धोबीखोला, रूद्रमती ,हनुमन्ते,मनोहराका किनार हेर्ने हो भने कङ्क्रिटको पर्खाल लगाएर बहाव क्षेत्र नियन्त्रण गरेको प्रस्ट देखिन्छ।
ती नदीका दायाँ बायाँ क्षेत्रमा सडक खोलेर नदीको बहाव क्षेत्र खुम्च्याइएको छ। नदीको बहाव क्षेत्र घटाएर नाला जस्तो आकारमा लगेपछि नदी प्राकृतिक रूपमा आफ्नो क्षेत्रमा बग्न पाउँदैन। खुल्ला क्षेत्र नपाएपछि वारिपारि पर्खाल लगाएको नदीको क्षेत्रमा पानी भरिएर बस्तीमा छिर्ने गरेको छ।
अर्को एक अध्ययन हेरौँ। सौरभ केसी, संगम श्रेष्ठ, सरावुत निनसावत र सोमचाइ चोनवट्टानाले 'जलवायु परिवर्तन र शहरीकरणका कारण काठमाडौं महानगरपालिकामा बाढीका घटनाहरूको पूर्वानुमान' शीर्षकमा जर्नल अफ इन्भाइरोन्मेन्टमा प्रकाशित गरेको अन्वेषणमा शहरी बाढीको कारण अव्यवस्थित शहरीकरण र जलवायु परिवर्तन उल्लेख गरिएको छ।
उनीहरूको अन्वेषणले अनुसार काठमाडौँ उपत्यकामा भू तह र स्थानीय मौसम परिवर्तनले वर्षाजन्य बाढीको सम्भावना बढाएको देखाएको छ।
त्यस्तै इनु प्रधान र जीवराज पोखरेलको 'शहरीकरण र जलवायु परिवर्तनले शहरी बाढीमा पारेको प्रभाव: काठमाडौं उपत्यकाको अवस्थाको अध्ययन' अनुसन्धानमा तीव्र वर्षाका घटनाहरूका समयमा शहरी ढल निकास प्रणालीहरू अत्यधिक चापमा पर्न थालेको र बढ्दो जनसङ्ख्याको कारण ती ढल निकास प्रणालीहरू धान्न नसकेको उल्लेख छ। अहिलेको जलवायु अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको शहरी ढल व्यवस्थापन प्रणालीले भविष्यको जलवायु अवस्था सामना गर्न नसक्ने उक्त शोधको निष्कर्ष छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) की जलस्रोत विशेषज्ञ मन्दिरा सिंह श्रेष्ठको प्रकाशित लेख अनुसार शहरी क्षेत्रको जमिनमा प्रायः अग्ला–अग्ला घरहरू निर्माण हुने तथा पक्की सडकको कारणले वर्षाको पानी सिधै जमिनले सोसेर लिन नसक्दा पानीको बहाव सतहमा आएर बाढी देखिने गरेको उल्लेख छ।
इसिमोडमै प्रकाशित उनको लेखमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा पछिल्लो ६० वर्षमा औसत तापक्रम १.५ डिग्री सेल्सियसले बढेको उल्लेख छ, जुन विश्व औसतभन्दा करिब २.५ गुणा बढी हो। यसको असरले कतै अत्यधिक वर्षा र कतै सुक्खा (खण्डवृष्टि) को समस्या देखिँदै आएको छ।
नदी–नालाको क्षेत्र अतिक्रमण, प्लास्टिकजन्य फोहोरले ढल अवरुद्ध हुनु, र समन्वयविहीन पूर्वाधार निर्माण (सडक, ढल, पाइप, तार) ले सामान्य वर्षामा पनि डुबानको जोखिम बढाएको उनको तर्क छ ।
त्रिभुवन विश्वविद्यालयका केन्द्रीय मौसम विभागका प्रमुख टेक बहादुर क्षेत्री नदी खुला हुन नपाएका कारण बाढी आउने गरेको बताउँछन्। खासमा नदीको वरपर कति छाड्ने भन्ने वैज्ञानिक आधारमा तोकिनु पर्छ।
“कानुनी कुरा त मलाई थाहा भएन तर नदीलाई नालामा परिणत गर्दा पानीको बहाव रोक्न सकिन्न, अनि यसले भौतिक तथा मानवीय क्षति गराउँछ” उनले भने।
बदलिई रहने मापदण्ड
नेपाल सरकार मन्त्रीपरिषद्द्वारा मिति २०६५ साल मंसिर १ गते "खोला किनारामा निर्माण गर्न मापदण्ड बनाएको थियो। खोलाको नापीको नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ तोकिएको दूरी छाड्नु पर्ने उल्लेख छ।
बागमती, विष्णुमती र मनहरा खोलाको हकमा २० मिटर, धोबी खोलाको हकमा धोबी खोला आयोजना भएको स्थानमा प्रोजेक्टको प्लानिङ अनुसारको दूरी र प्लानिङ बाहेकका स्थानमा-९ मिटर, नख्खु खोलाको हकमा १२ मिटर, बल्खु, कर्मनासा, कोड्कु, साङ्ले र महादेव खोलाको हकमा-१० मिटर, करखुसी खोलाको हकमा ६ मिटर र टुकुचा, सामाखुसी र उपत्यकामा बग्ने अन्य खोलाको हकमा ४ मिटर, हनुमन्ते खोला बग्ने क्षेत्रमा नगरोन्मुख क्षेत्रमा समेत खोलाको किनारबाट २० मिटर छाडी निर्माण गर्न पाइने उल्लेख थियो।
यसमा नदी किनारमा बस्नेहरू प्रभावित हुने देखियो। २०८० पुस ३ को सर्वोच्च अदालतको फैसलामा काठमाडौं उपत्यकामा २७ स्थानमा नदी किनारामा ३ हजार ४ सय ९६ घरधुरी छाप्रा रहेको उल्लेख गरेको छ। सोमध्ये काठमाडौं महानगरपालिकामा २ हजार १ सय ७०, कागेश्वरी मनोहरा नगरपालिकामा ९०, बुढानीलकण्ठ न.पा.मा १ सय ५६, गोदावरी नगरपालिकामा २ सय १५, ललितपुर महानगर १७ र भक्तपुर जिल्लामा ७ सय ७३ परिवारका घर टहरा रहेको उल्लेख छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट वालेन्द्र शाह प्रधानमन्त्री भएपछि अनधिकृत रूपमा बसेको भन्दै नदी छेउछाउका बस्तीहरू फौजी अप्रेसनबाट खाली गराइयो।
सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्माले गरेको संयुक्त फैसलामा वास्तविक सुकुमबासीको तथ्याङ्क संकलन गरी विभिन्न छनौट दिएर उनीहरूको स्थानान्तरण हुनु पर्ने भन्दै नदी किनारा वरपर २० मिटर छाड्नु पर्ने उल्लेख गर्यो। यद्यपि २० मिटर राख्ने फैसला उल्टिएको छ । फैसलाको पूर्ण पाठ नआएको र नदी किनारामा २० मिटर राख्ने मात्रै उल्लेख भएका कारण पूर्ण फैसलामा के छ खुलेको छैन।
पानी सोस्ने ठाउँ नै भएन
बहाव क्षेत्र खुम्चिँदै जानु अनि नदी क्षेत्र अतिक्रमणमा पर्नु बाढीको एक कारण त भयो नै, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक क्षेत्री अत्याधिक शहरीकरणका कारण उपत्यकामा कङ्क्रिटको संरचना बढ्ने र खुला क्षेत्र घट्ने गर्दा पानी सोस्ने प्रक्रिया र भूमिगत पानीमै समस्या आइरहेको बताउँछन्। त्यसको प्रभाव उपत्यकाको पोखरीदेखि हितीसम्म परेको छ।
हिति प्रणालीका लेखक पद्य सुन्दर जोशीको पुस्तक अनुसार राजकुलो-पोखरी- हिति सम्म एक सर्कल भएर पानी आउँथ्यो। भूमिगत पानी समेत भण्डारण हुन्थ्यो तर भूमिगत पानी नहुँदा पोखरी सुके । पानी जम्ने र जमाउने ठाउँ भएन जसले गर्दा उपत्यकाको शहरी इलाकामा बाढी जान्छ ।
उनका अनुसार पोखरीले बाहिरबाट ल्याएको पानी वा आकाशबाट वर्षेको पानीको संकलन गरी भूमिगत जल प्रणालीमा पठाई सतही पानी र भूमिगत पानीको इन्टरफेसको काम गर्छ। काठमाडौंको भू-सतहमा ग्राभेल, पाँगो, चिम्ट्याइलो बालुवा, बलौटे र ढुङ्गिलो माटोको तह रहेकोबाट पनि सो तहभन्दा तल रहेको कालीमाटी (१५० मिटरदेखि २५० मिटरसम्म बाक्लो) भन्दा माथिको सम्पूर्ण भागमा पोखरीको पानी सोसिएर भूमिगत जल प्रणाली बलियो हुन्थ्यो।
भूमिगत जल प्रणालीमा प्रतिकूल असर पार्ने मुख्य पक्ष खुला ठाउँ मासिनु र काठमाडौं उपत्यकाको बढ्दो शहरीकरण हो। शहरीकरणको कारण खेतीयोग्य र खुला जमिन मासिए, जसले भूमिगत जलस्रोतको पुनर्भरणमा असर पर्यो।
भवन निर्माण गरिँदा वर्षातको पानी सकपिट मार्फत जमिनभित्र पठाउनुको साटो सिधै ढल वा सडकमा छाडिदा त्यो बग्दै नदीमा पुग्दा समेत त्यसले बाढीको आकार लिने गरेको छ।
समाधान कसरी त ?
(इसिमोड) की जलस्रोत विशेषज्ञ मन्दिरा सिंह श्रेष्ठले लेखमा शहरी बाढीजन्य क्षति न्यूनीकरणका लागि सरकारले प्रभावकारी भू-उपयोग नीति कार्यान्वयन गर्दै बस्ती विकास अघि नै सडक, उद्योग, आवास, सार्वजनिक क्षेत्र र हरित क्षेत्रको स्पष्ट योजना बनाउनु आवश्यक रहेको उल्लेख गरेकी छिन्।
वन विनाश रोक्दै जलाधार संरक्षण र व्यवस्थित शहरीकरणलाई प्राथमिकता दिनुका साथै ढल, सडक, बिजुली र पानी जस्ता पूर्वाधार निर्माणमा सरकारी तथा गैरसरकारी निकायबीच समन्वय गर्नु जरुरी रहेको उनले लेखेकी छिन्।
वर्षायामको पानी संकलन, पोखरी संरक्षण र हरित क्षेत्र विस्तारले पानीको बहाव व्यवस्थापनमा सहयोग पुर्याउँछ। साथै, ढलमा फोहोर नफाल्ने, नियमित सरसफाइ गर्ने जस्ता जनचेतनामूलक कार्यक्रम पनि उत्तिकै आवश्यक छन्।
यी उपायहरू प्रभावकारी रूपमा लागू गर्न सके शहरी बाढीको जोखिम उल्लेख्य रूपमा घटाउन सकिन्छ, जसका लागि विभिन्न निकाय र अध्ययन संस्थाहरूले समेत सहकार्य र अनुसन्धानलाई अघि बढाइरहेको श्रेष्ठले लेखेकी छन्।
वैशाख ३०, २०८३ बुधबार २१:३९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।