‘गौँथली’को ट्रेलर युट्युब ट्रेन्डिङमा

‘गौँथली’को ट्रेलर युट्युब ट्रेन्डिङमा

काठमाडौं : साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गौँथली’को ट्रेलर युट्युबको सिनेमा विधातर्फ दोस्रो स्थानमा ट्रेन्डिङमा चढेको छ।

डा. कपिल रिजालको निर्देशनमा बनेको यस फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। फिल्ममा अरुणले अटिजम भएको युवकको भूमिका निर्वाह गरेका छन्।

अटिजम भएका युवकसँग विवाह गरेकी दुलहीले भोग्ने पारिवारिक समस्या, शिक्षाका लागि उनको सङ्घर्ष र सामाजिक मान्यताले व्यक्तिगत सपनामा पार्ने प्रभाव फिल्मको मुख्य विषयवस्तु रहेको ट्रेलरमा देखाइएको छ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाईली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको पनि अभिनय छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली रहेका छन्।

डा. भोला रिजालको कथा रहेको यस फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता सरला रिजाल हुन् भने सुमन गिरी र डा. कपिल रिजाल निर्माताका रूपमा रहेका छन्।

फिल्ममा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, एलिस कार्कीको पार्श्व संगीत, हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

गौँथलीलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले देशभर वितरण गर्नेछन्। यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

करिब दुई दशकअघि डा. भोला रिजालले यही नाममा नेपालको पहिलो गीति चलचित्र निर्माण गरेका थिए। सोही नामलाई निरन्तरता दिँदै अहिले उनका छोरा डा. कपिल रिजालले यो फिल्म निर्देशन गरेका हुन्।

असार २४, २०८३ बुधबार १५:०९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।