कमलपोखरीमा जुरेको सर्पको आहारा (तस्बिर कथा)

कमलपोखरीमा जुरेको सर्पको आहारा (तस्बिर कथा)

काठमाडौं :  भनिन्छ नि, सर्पको आहारा दैवले जुराउँछ। भक्तपुरको मध्यपुर थिमिमा रहेको बोडेस्थित कमलपोखरीमा यस्तै आहारा जुटाएको सर्पको दुर्लभ दृश्य क्यामरामा कैद भयो। तर त्यो आहारा दैवले हैन सर्पकै मिहिनेतले जुरेको थियो।

नागपञ्चमीको पूर्वसन्ध्या आइतबार बिहान पोखरी छेउमा टहलिने क्रममा एउटा रोचक र दुर्लभ प्राकृतिक दृश्य देखियो। आधा भाग कमलको फुलले ढाकिएको पोखरीमा आहारा जुराइरहेको सर्प अनि उसले गरेको संघर्षको दृश्य कैद गर्न सफल भइयो।

पर्खालले घेरिएको पोखरीको एक किनारमा रहेको सर्पले त्यहीँ माछा फेला पार्यो। तर बढो सकसले उसले नियन्त्रणमा लिन सक्यो। बल्ल बल्ल माछा नियन्त्रणमा लिएपछि सर्प सुरक्षित स्थानको खोजीमा पोखरीको बिच भागतिर पौडियो।

माछा राख्न उसले कुनै ठाउँ फेला पारेन। उपाय निकाल्दै उसले पानीमाथि तैरिरहेको कमलको पातको सहारा लियो। मुखमा च्यापेको माछा लिएर उ त्यही पातमा चढेर माछा निल्न थाल्यो।

तस्बिरमा देखिएको यो सर्प 'पानी सर्प' हो। यो विषालु हुँदैन अनि मानिसका लागि सामान्यतया घातक मानिँदैन। यो प्रजातिको सर्प पोखरी, धानखेत, सिमसार, ताल र नदी किनारजस्ता जलाधार क्षेत्रमा बढी पाइन्छ। 

पानी सर्पले मुख्यतया माछा, भ्यागुता, तिनका बच्चा (ट्याडपोल), पानीका किरा र मुसालाई आहार बनाउँछ। यसले सिकारलाई मुखले समातेर बिस्तारै पूरै निल्ने गर्छ।

नेपालमा सर्प र पारिस्थितिक प्रणाली

नेपालको तराईदेखि उच्च पहाडी भूभागसम्म ९० भन्दा बढी प्रजातिका सर्प पाइन्छन्। अध्ययन अनुसार तीमध्ये गोमन, राजगोमन, करेत र भाइपरजस्ता करिब २० प्रतिशत मात्रै विषालु छन् भने अजिङ्गर, धामन र पानी सर्पसहित बाँकी ८० प्रतिशत विषरहित छन्।

पारिस्थितिक प्रणाली र प्राकृतिक खाद्य शृङ्खला सन्तुलित राख्न यस्ता सर्पहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। खाद्य शृङ्खलामा सर्प द्वितीयक र तृतीयक उपभोक्ताको रूपमा रहन्छन्। तर पछिल्लो समय जलवायु परिवर्तन, वासस्थान विनाश र मानव-सर्प द्वन्द्वका कारण यिनीहरूको अस्तित्व सङ्कटमा पर्दै गएको छ।

नागपञ्चमी र सांस्कृतिक महत्त्व

सांस्कृतिक रूपमा सर्पलाई नाग देवताका रूपमा पुज्ने हिन्दु परम्परा छ। संयोगवश, आज श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी हो। परापूर्वकालदेखि नै नागपञ्चमीका दिन घरको मूल ढोकामा नागको चित्र टाँसी पूजा अर्चना गर्ने चलन छ। यसो गर्दा सर्प, बिच्छीजस्ता विषालु जीवका साथै चट्याङ र आगलागीबाट रक्षा हुने जनविश्वास रहिआएको छ।

भदौ १, २०८३ सोमबार १५:४९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।